©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

‘किनलकको नाममा होइन, पदमार्गको नाम वंशु गुरुङ जस्ता वीरयोद्धाको नाममा राखिनुपर्छ’


सिन्धुली । अंग्रेज फौजलाई विश्वमा पहिलोपटक पराजित गरेको सिन्धुलीगढीमा युद्ध जितेका वीर गोर्खाली योद्धाको नाममा पदमार्ग राख्नुको सट्टा पराजित अंग्रेज फौजको कमाण्डरको नाममा नामाकारण गरिएकोभन्दै अहिले सर्वत्र विरोध भएको छ ।

क्याप्टेन किनलक पदमार्ग नामाकरण गर्दै जेठ २२ गते नेपाली सेना, कमलामाई नगरपालिकाले पदयात्रा गरेपछि स्थानीयले व्यापक रुपमा विरोध जनाएका छन् ।

समृद्ध सिन्धुली अभियान र होटल एसोसिएसन नेपाल सिन्धुलीको संयोजनमा असार १४ गते शुक्रबारका दिन सिन्धुलीमा आयोजित कार्यक्रममा पनि किनलक पदमार्ग निर्माण गरिनु गलत भएको वक्ताहरुले औंल्याएका छन् ।

पराजित अंग्रेजको नाममा पदमार्ग नामाकरण गर्न नहुने भन्दै वक्ताहरुले सिन्धुली गढी युद्धमा वीरता प्रदर्शन गर्ने गोर्खाली कमाण्डरहरुको नाममा पदमार्ग नामाकरण गरिनुपर्ने जोडदार माग गरे ।

वक्ताहरुले वीरयोद्धाहरु सिकारी सरदार वंशु (वंश) गुरुङ जस्तो वीरयोद्धाको नाममा नामाकरण गर्न माग गरेका छन् । उनीहरुले वंशु गुरुङ, वीरभद्र उपाध्याय, वंशराज पाण्डे, श्रीहर्ष पन्त लगायतका वीर योद्धाको इतिहासलाई नै अपमान गर्न नहुने भन्दै उनीहरुको नाममा पदमार्ग निर्माण गर्र्नुपर्ने बताए ।

सिन्धुलीगढी ऐतिहासिक सम्पदा भएकाले यो सम्पदाको रक्षाका लागि इतिहासमा योगदान दिने योद्धाहरुको सम्मान गरेर अघि वढ्नुपर्ने वक्ताहरुको सुझाव थियो ।

कार्यक्रममा अभियन्ता सौरभ ढकालले सिन्धुलीगढीमा अहिलेसम्म हुँदै आएका गतिविधिहरुबारे जानकारी दिएका थिए । कार्यक्रममा बुद्धिजिवी भीमविक्रम थापा, अधिवक्ता तथा वरिष्ठ पत्रकार लीलानाथ घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णहरि घिमिरे, महासंघकै पूर्वअध्यक्ष राजकुमार कार्की, अभियन्ताहरु दीपक श्रेष्ठ, भुवन थापा, गोविन्द थापा, डण्ड गुरुङ लगायतले सिन्धुली गढी संरक्षणका सन्दर्भमा धारणा राखेका थिए ।

सो कार्यक्रमले सात बुँदे प्रतिवद्धतापत्र समेत जारी गरेको छ ।

सातबुँदे प्रतिबद्धता —

१. सिन्धुलीगढीमा जथाभाबी निर्माण भएका संरचनाले सम्पदा मासिदै गएको छ। सिन्धुलीगढीको विषयमा जे जति गुरूयोजना निर्माण गरिएका छन्, तिनलाई सार्वजनिक गरी नागरिक तहको छलफलमार्फत् संरक्षण गुरूयोजना तयार पारिनुपर्छ।

२. पौवागढीबाट सिन्धुलीगढी हुँदै चपौली जाने बाटो स्थानीयले दैनिक प्रयोग गर्ने मार्ग हो। उक्त मार्ग निर्वाध आवतजावतका लागि खुला गरिनुपर्छ।

३. सिन्धुलीगढीको सम्पदा, इतिहास मेटिँदै गएको छ। यसको संरक्षणमा सम्बद्ध निकाय जिम्मेवार र संवेदनशील हुनु आवश्यक छ। ऐतिहासिक गढी, किल्ला, सम्पदा संरक्षणका लागि नेपाल सरकारले तयार पारेको नीति निर्देशन अनुसरण गर्नुपर्छ।

४. सरकारले करोडौं रूपैयाँ लगानी गरी पुनर्निर्माण गरेको रानीमहल दरबार संरक्षणविहीन अवस्थामा पुगेको छ। उक्त दरबारलाई युद्ध संग्रहालयका रूपमा विकास गरी संरक्षण गरिनुपर्छ।

५. सिन्धुलीगढीमा भौतिक संरचना निर्माण गर्नुअघि स्थानीयसँग कुनै पनि सुझाव लिने कार्य गरिएको थिएन, छैन। गढीको सम्पदा संरक्षणमा स्थानीयको सहभागिता सुनिश्चितता गरिनुपर्छ।

६. कप्तान किनलक मार्गका रूपमा जुन नाम प्रस्ताव गरिएको छ, त्यसप्रति हाम्रो असहमति छ। स्थानीयवासीको छलफलबाट पदमार्गको नामाकरण गरिनुपर्छ।

७. सिन्धुलीगढी विजय दिवस असोज १५ गते मनाइनुपर्छ।