©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

सिन्धुलीगढीमा ‘वंशु गुरुङ’ स्मारिका विमोचित


सिन्धुली । २५७औँ सिन्धुलीगढी विजयोत्सव समारोहमा सिन्धुलीगढी युद्धका एक नायक सिकारी सरदार वंशु (वंश) गुरुङ स्मारिका विमोचन भएको छ ।

सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको स्मारिका कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

सिन्धुलीगढीमा गोर्खाली सेनाले कम्पनी सरकारको सेनालाई पराजित नगरेको भए हामीले नेपाली भनेर गर्व गर्न पाउने अवस्था बन्थ्यो वा बन्दैनथ्यो केही भन्न नसकिने भन्दै उहाँले सिन्धुलीगढीका सेना नायकहरूलाई राज्यले उचित सम्मान दिनुपर्ने बताउनुभयो ।

उहाँले सिकार सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका सदस्यहरू अध्यक्ष क्या. लालजङ गुरुङसहित करिब एक दशकबाट सिन्धुलीगढी विजयोत्सव कार्यक्रममा सहभागिता जनाउँदै आएकोसमेत स्मरण गर्नुभयो ।

सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङले प्रतिष्ठानलाई आयोजक कमलामाई नगरपालिकाबाट वर्सेनि कार्यक्रममा औपचारिक निम्तो आउने गरेकोमा गर्व व्यक्त गर्दै तनहुँको ढोर जस्पुरमा सिकारी सरदार वंशु गुरुङको शालिक स्थापना गरिएको बताउनुभयो ।

उहाँले प्रतिष्ठान दोस्रो स्मारिका प्रकाशन गर्न सफल भएको भन्दै अब आफूहरूको माग सिकारी सरदार वंशु गुरुङसहित सिन्धुलीगढी युद्धका सेना नायकहरूलाई राष्ट्रिय विभूति घोषणा रहेको बताउनु भयो ।