©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

सिन्धुलीगढी विजयोत्सव अवसरमा वंशु गुरुङका सन्तानले पुर्खा सम्झिए


पोखरा । सिन्धुलीगढी विजयोत्सवको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरस्थित वंशु गुरुङका सन्तानहरुले वंशु गुरुङको सम्मानमा शालिकमा माल्यार्पण गरेका छन् ।

शिकारी शरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा भएको शालिक माल्यार्पण कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशन गुरुङ, १२ नम्बर वडाध्यक्ष मनराज गुरुङ लगायत जनप्रतिनिधि समेतको उपस्थिति कार्यक्रम सम्पन्न भएको थियो ।

सिन्धुलीगढीमा विश्वमै पहिलोपटक १८२४ साल असोज १५ गते अंग्रेज फौजलाई पराजित गरेको दिनको स्मरणमा विजयोत्सव मनाइएको हो । बिहीबार सिन्धुली, काठमाडौं र तनहुँको जसपुरमा विजयोत्सव मनाइएको छ ।

सिन्धुलीगढीको युद्धमा सरदार वंशु गुरुङ नेपाल एकीकरण अभियानमा ठूलो धक्का लगाउने अङ्ग्रेजको सपना चकनाचुर पार्दै एकीकरण अभियानलाई तीव्रगतिमा अगाडि बढाउने एक वीर योद्धा भएको बताइन्छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गुरुङले वंशु गुरुङ लगायत सपुतहरुले सिन्धुलीगढीको युद्धमा विजय हासिल गरी गौरव बढाएकोमा सम्मान व्यक्त गरे । वंशु गुरुङ लगायत वीरहरुको योगदान अतुलनीय रहेको भन्दै राष्ट्रिय विभूतिको सम्मान दिनुपर्ने माग गरे ।

राष्ट्र जोगाउने व्यक्ति वंशु गुरुङको शालिक आफ््नो वडामा बन्नुले गौरव बढाएको भन्दै शुक्लागण्डकी १२ का वडाध्यक्ष मनराज गुरुङले वंशु गुरुङ प्रतिष्ठानका लागि वडाको तर्फबाट पनि सहयोग गरिने बताए ।

पोखरा महानगरपालिकाका १६ नम्बर वडा सदस्य राजेश गुरुङले वीरगाथा बोकेका व्यक्तित्व, आफ्नो पुर्खाको शालिक जसपुरमा स्थापना गर्न पाउँदा गरिमा बढेको बताए । गत वर्ष जसपुरमा स्थापना गरिएको प्रतिमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरेका थिए । अर्धकदको शालिक निर्माणका लागि करीब रु दुई लाख ५० हजार खर्च भएको थियो ।