©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

वंशु गुरुङले वीरता देखाएको त्यो युद्ध


  • राजकुमार दिक्पाल

गोर्खाली र अङ्ग्रेजबीच पहिलो भेटघाट युद्धका क्रममा भयो । वि.सं. १८२४ मा गोर्खाली र अङ्ग्रेज सेनाबीच युद्ध हुँदा गोरखालीहरूले एकलौटी रूपमा उनीहरूलाई दपेटेर आफ्नो भूमिबाट लखेटेका थिए । उनीहरूले गोर्खालीबाट नराम्ररी पराजयको स्वाद चाखेका थिए ।

पृथ्वीनारायण शाहले आफ्नो विजय अभियानका क्रममा काठमाडौँ उपत्यकाका तीन राज्यलाई पूरै घेरामा राखेर नाकाबन्दी लगाइरहेको बेला कान्तिपुरका राजा जयप्रकाश मल्लले गोर्खालीहरूबाट आफ्नो राज्य सुरक्षित राख्न अङ्ग्रेजलाई गुहार्ने निर्णय गरेका थिए । उनलाई यसका लागि उपत्यकामा रहेका इसाई पादरीहरूले सल्लाह दिएका थिए । अङ्ग्रेज अधिकारीहरूसम्म जयप्रकाश मल्लको खबर पु¥याउन काठमाडौँमा रहेका मुसलमान व्यापारी र नागा वैरागीहरूले काम गरेका थिए ।

नेपालमा वि.सं. १६८५ मा जब्राल नामका पादरी आएका थिए । त्यसपछि प्रताप मल्लको पालामा वि.सं. १७१८ मा ग्रोवर र डोरविन नामका पादरी आए । यिनीहरू सोझै समुद्री मार्गबाट चीन भोट गएका थिए । तर चीन भोटमा भने इसाई र अङ्ग्रेजलाई मन पराइन्थ्यो । चीन भोटमा आफ्नो धर्म प्रचार गर्न नपाएपछि ती पादरी नेपाल झरेका थिए । राजा प्रताप मल्लले यिनीहरूबाट दूरविन उपहार पाएका थिए ।

त्यसपछि केपुचिन पादरी दलले कान्तिपुर र ललितपुरमा आफ्नो अड्डा जमाइसकेका थिए । यहीँबाट तिब्बत ल्हासामा आफ्नो इसाई मत प्रचार गर्थे । पादरी होरेस जुवाचिम आफ्ना चेलासाथ नेपाल–भारत आवतजावत गर्थे । भक्तपुरका अन्तिम राजा रणजित मल्लले बोलाएकाले जुवाचिम पुनः पटनाबाट भक्तपुर आएर बसेका थिए । उनी औषधोपचारमा पोख्त थिए ।
…………….
पृथ्वीनारायण शाहले आफ्नो विजय अभियानका क्रममा कान्तिपुरको पश्चिमोत्तर भागमा ठाना बार्दै कान्तिपुरलाई ढेप्दै ल्याएपछि जयप्रकाश मल्लले पृथ्वीनारायण शाहलाई रोक्न इसाई पादरीहरूको सल्लाहअनुसार अङ्ग्रेजलाई निम्त्याउने निर्णय गरे ।

वि.सं. १८०१ मा पृथ्वीनारायण शाहले नुवाकोट कब्जा गरी उत्तरी क्षेत्रबाट उपत्यकामा नाकाबन्दी सुरु गरेका थिए । चारैतिरबाट आर्थिक नाकाबन्दी गरी पेल्दै आएका गोर्खालीहरूबाट आफ्नो देशलाई खतरामा परिरहेको अवस्थामा कान्तिपुरका राजा जयप्रकाश मल्ल आत्तिइरहेका थिए । वि.संं. १८१९ मा गोर्खालीहरूले मकवानपुर अधिकार गरेपछि उनी थप त्रस्त हुन पुगे । त्यसबेला मकवानपुरका राजा दिग्वन्धन सेनले बंगालका नवाब काशिम अलि खाँसँग सैनिक सहायता मागेका थिए । तर गोर्खालीहरूले उनीहरूलाई पराजित गर्दा एकातिर पृथ्वीनारायण शाह हर्षबढाइँ मनाइरहेका थिए भने अर्कातिर जयप्रकाश मल्लमा भने झन्–झन् त्रास बढ्दै गइरहेको थियो । तेस्रोपटकको प्रयासमा गोर्खालीले कीर्तिपुर कब्जा गरेपछि गोर्खालीहरूले उपत्यकालाई झन् अचेट्दै ल्याएका थिए । के गर्ने के नगर्ने दोधारमा परिरहेको बेला काठमाडौँमा रहेको पादरी जोसेपीले अङ्ग्रेजसँग सैनिक सहायता मागी गोर्खालीहरूलाई हटाउनुपर्ने आश देखाएर जयप्रकाश मल्ललाई घच्घच्याइरहेका थिए ।

तर त्यसबेला अङ्ग्रेजलाई निम्तोका लागि खबर पठाउन सजिलो थिएन । अर्जी पत्रहरू पादरीहरूले आफ्नो खल्तीमा बोकेर लगिदिन त सक्थे । तर अङ्ग्रेज अधिकारीहरूलाई नेपालको परिस्थिति बुझाउन सक्ने कम्तीमा दुई जना दूतको बन्दोबस्त गर्नुुपथ्र्यो । ती दूत पनि गोर्खालीका विरोधी हुनुपथ्र्यो । त्यसबेला पृथ्वीनारायण शाहले उपत्यकामाथि लगाएको नाकाबन्दीका कारण काश्मिरी मुसलमान व्यापारी र काठमाडौँमै थुनिएर रहनु परेका नागा वैरागीहरू गोर्खालीका विरोधी हुन पुगेका थिए । त्यसैले जयप्रकाश मल्लले उमदा नामक काश्मिरी मुसलमान र रामदाश नामक वैरागीलाई भक्तपुरका राजा रणजित मल्लसँग सल्लाह गरी उमदालाई वकिल र रामदाशलाई उनको सहायक बनाएर ई.सं. १७६७ मार्चको आरम्भ मा सिन्धुलीको बाटो गरी बेतिया पठाए । बेतियामा अर्जी पत्र पुगेपछि त्यहाँ रहेका अङ्ग्रेज वाणिज्यदूत गोल्डिङले जयप्रकाश मल्लद्वारा पठाइएका दूतहरूबाट काठमाडौँको परिस्थिति बुझे । जयप्रकाश मल्ललाई सहयोग गरिएको अवस्थामा ईष्ट इन्डिया कम्पनीलाई अनेक तरहले लाभ हुने देखाएर उनले जयप्रकाश मल्लको अर्जी पत्र र दूतहरूलाई पटनाका हाकिम रम्बोल्डसमक्ष पठाइदिए ।

जयप्रकाश मल्लको सहयोग याचनाका साथ अर्जी पत्र आइपुगेपछि अङ्ग्रेज अधिकारीहरूले जुन उत्साहसाथ चलखेल सुरु गरेका थिए, यता पृथ्वीनारायण शाह पनि चुप लागेर बसेका थिएनन् । चतु¥याइँमा उनी कमजोर खालका मानिस थिएनन् । उनले यो कुरा आफ्ना गुप्तचरहरूमार्फत् पत्ता लगाइसकेका थिए । यसैक्रममा उनले अङ्ग्रेज अधिकारीहरूको आँट बुझ्न र उनीहरूलाई अलमल्याउने रणनीतिअनुसार काम सुरु गरेँ । उनले आफ्नो सिमाना ईष्ट इन्डिया कम्पनीको सिमानासँग जोडिइसकेको र यदि आफ्नो सुरक्षा प्रबन्ध हुन्छ भने भेटघाटका लागि आफू पटना आउन तयार रहेको पत्र रम्वोल्डलाई पठाए ।

जयप्रकाश मल्लको सहयोग याचनाबारे छलफल हुँदा अङ्ग्रेज अधिकारीहरू गोर्खालीविरुद्ध सैनिक अभियान सञ्चालन गर्नुपर्ने निष्कर्षमा पुगे । बन्द भएको नेपालसँगको व्यापार चालु गराउनु र नेपालको बाटो भएर चीनसँग व्यापारिक सम्बन्ध स्थापना गर्नुजस्ता दुई मुख्य उद्देश्यका साथ अङ्ग्रेज अधिकारीहरूले आफ्नो सैनिक अभियान नेपालतिर बढाउने निष्कर्ष निकालेका थिए । यस निष्कर्षका साथ अङ्ग्रेज अधिकारीहरूले कप्तान किनलकलाई सैनिक अभियानको नेतृत्वको जिम्मेवारी दिइयो । उनले जयप्रकाश मल्लका वकिलहरूसँग भेट गरी गोर्खाली सैनिकहरूको सङ्ख्या, उनीहरूले प्रयोग गर्ने हातहतियार, उनीहरूको रणकौशल, सैनिक अभियान दल जाने बाटो, त्यसको दूरी, बास आदिका बारेमा पनि जयप्रकाश मल्लका वकिलमार्फत् सूचनाहरू सङ्कलन गरे ।

किनलकले सैनिक अभियानका लागि पटनाबाट पनौतीसम्मको यात्रा तय गरे । उनले तय गरेको बासहरूअनुसार पटनाबाट हाजिपुर, दरभङ्गा, वावाह (बगाहा ?), जनकपुर, जेलादबास, रानिवापा (रानीबास ?), सिन्धुली (गढी), खुर्कोट, झाँगाझोली, दाप्चाहुँदै पनौतीसम्म आइपुग्ने योजना तय भयो । तर किनलकको फौजका लागि जयप्रकाश मल्लले व्यवस्था गरिदिने रसद–पानी असम्भव थियो । गोर्खालीले लगाएको नाकाबन्दीका कारण एक गेडा अन्न पनि बाहिर जान सक्दैनथ्यो ।

तर अङ्ग्रेज अधिकारीहरूलाई नेपाल पस्न हतारो थियो । रम्वोल्डले किनलकलाई सैनिक अभियानका लागि दौडाइहाले ।

पृथ्वीनारायण शाहले पनि अङ्ग्रेजहरूबाट हुन सक्ने हमलाको प्रतिकार गर्न आवश्यक तयारी गर्न थालिसकेका थिए । उनले अङ्ग्रेजहरूको सम्भावित सैनिक अभियान सिन्धुलीतिरबाट हुन्छ भन्ने अनुमानका आधारमा खजाञ्ची वीरभद्र उपाध्याय र सिकारी सरदार वंशु गुरुङलाई धुलिखेलदेखि दुम्जासम्म रहेका पाँच सय जति सैनिक दलका साथ सिन्धुली भञ्ज्याङमा रहेको पौवागढी पुगेर शत्रुको निगरानी राख्न पठाए । कीर्तिपुरमा रहेका सात सय जति सैनिकका साथ काजी वंशराज पाँडे र काजी श्रीहर्ष पन्थलाई अप्रिलको आखिरी मा सिन्धुली पठाइसकेका थिए । यसैगरी उनले हरिहरपुरतिरबाट पनि आक्रमण हुने सम्भावना देखेर तीन सय जति सैनिक हरिहरपुरगढीमा पनि पठाइसकेका थिए । जूनको मध्य तिर उनी आफैँ नुवाकोटबाट कीर्तिपुर आएर त्यहाँबाटै रसद, हतियार र भरियाहरूसमेतको खटन–पटनमा लागे । उनले काजी वंशराज पाँडेमार्फत सिन्धुलीगढीदेखि जनकपुरसम्मका बाटामा परेका गाउँहरूका बासिन्दालाई शत्रु सैन्यले लुटपाट गर्नसक्ने सम्भावना भएकाले अलि परको सुरक्षित स्थानहरूमा बसाइँ गर्न आदेश दिए । जनकपुरदेखि सिन्धुलीगढीसम्मको बाटो समथर भएकाले तोप आइपुग्ने सम्भावना देखेर गढी खाली गराइएको थियो ।

पृथ्वीनारायणको प्रत्याक्रमणको तयारी यसरी चलिरहेको बेला जयप्रकाश मल्लका वकिलहरू उमदा र रामदाशलाई अगाडि लगाएर कप्तान किनलक १८ कम्पनीमा बाँडिएर २४ सय बन्दुकधारी सैनिक लिएर नेपालतिर सैनिक अभियान सञ्चालन गर्न पटनाबाट प्रस्थान गरे । उनका साथ अङ्ग्रेजका साथै हिन्दू–मुसलमानसमेत सैनिक थिए ।

तर किनलकले सोचेजस्तो भएन । दरभङ्गाबाट जनकपुर आइपुग्दा कप्तान किनलक र रसदको प्रबन्ध गर्न आएका हार्डी सशंकित भए । उनीहरूका लागि सिन्धुलीगढीसम्म पुग्नै रसदको अभाव हुने अवस्था देखा पर्न थाल्यो । जनकपुर बजार र बस्ती उजाड भएकाले त्यहाँ रसद खरिद गर्ने अवस्था थिएन । दरभङ्गाबाट रसद झिकाई सिन्धुलीगढीसम्म पुग्ने गराइयो । अगाडि बढ्दै जाँदा सेप्टेम्बरको आरम्भ मा उनीहरू सिन्धुलीगढीतिर बढे । बजार उजाडिएकाले रसद खरिद गर्न नपाउँदा किनलक असमञ्जसमा परेका थिए । बचेखुचेको रसदले बिहानको छाक टारेर बेलुकी खुर्कोट बास गर्ने निधो गरी उनीहरू अगाडि बढे । उनीहरूले गोर्खालीको तयारीबारे अनुमान गरेका थिएनन् । वनजङ्गल नाघेर ढुङ्ग्रेबासमा शत्रुको ताँती उकालो लागेको समयमा आक्रमण गर्न पाँच सय गोर्खाली सैनिक वंशु गुरुङको नेतृत्वमा तयारी अवस्थामा थियो । पौवागढीमा शत्रुउपर आक्रमण गर्न वंशराज पाँडे र वीरभद्र उपाध्याय तयार अवस्थामा थिए । उनीहरूका साथ सात सय सैनिक थिए ।

बचेको रसद र भारी बोकेका भरियालाई अगाडि लगाएर हार्डी हिँडेका थिए । उनीपछि १८ कम्पनी सैनिक उकालो चढ्दै थिए । उनीहरूपछि किनलक थिए । गोर्खालीहरूले निहत्था भरियाहरूलाई पौवागढीबाट अगाडि बढ्न दिए । तर हार्डी देखापर्नेबित्तिकै गोर्खाली सैनिकले हतियार प्रहार गरी टाउकोमा घायल गराइदिँदा यिनी फर्कन बाध्य भए । यिनलाई बचाउन कम्पनी सरकारका केही सैनिक हतियार फाल्न विवस भए । यसै अवस्थामा ढुङ्ग्रेबासबाट आएका वंशु गुरुङले शत्रु सेनाउपर आक्रमण गरिदिए । पौवागढीतिरबाट वीरभद्र उपाध्याय र उनको साथमा आएका गोर्खाली सैनिकहरूले ज्यानको बाजी लगाएर दपेटा दिँदा अङ्ग्रेज सैनिकहरू बन्दूक फ्याँकेर जङ्गल पसी ज्यान बचाउनतिर लागे । गोर्खाली सैनिकका खुकुरीले आधाभन्दा बढी अङ्ग्रेज सैनिक हताहत भएपछि बचेखुचेका सैनिक लिई किनलक सिन्धुलीगढी पार भएर जनकपुरको बाटो पक्रन बाध्य भए । जहाँसम्म दपेट्न सम्भव थियो, त्यहाँसम्म वीरभद्र उपाध्याय र वंशु गुरुङले दपेटे । रसद र मालमत्ता केही नभएका अङ्ग्रेज सैनिकहरूले मुस्किलले जनकपुर पुगेर दम लिए । यो युद्धमा गोरखालीहरूलाई प्रशस्तै बन्दुक हात परेको थियो ।

यो युद्धमा गोर्खाली सैनिकले शत्रुविरुद्ध बहुमुखी धराप प्रयोग गरेका थिए । लुकेर बसेका गोर्खाली सैनिकले अगाडि र पछाडि दुवैतिरबाट तहस–नहस पार्ने आक्रमण गरी करिब १६ सय शत्रु सेनालाई मारेका थिए ।

शत्रु सेनाविरुद्ध अरिंगालको प्रयोग

अङ्ग्रेजहरूलाई हराउन गोर्खाली सेनाले रैथाने जुक्तिबुद्धि पनि अपनाएका थिए । उनीहरूले घारेमौरीका साथै जङ्गलमा रहेका बच्छ्यूँ तथा अरिंगाललाई पनि शत्रु सेनाविरुद्ध प्रयोग गरेका थिए ।

किनलकको नेतृत्वमा अङ्ग्रेज सेना आक्रमणका लागि आउँदैछ भन्ने गुप्तचरहरूबाट सूचना पाई गोर्खाली सेना चनाखो भएर बसेका थिए । उनीहरू जनकपुरहुँदै ढल्केबरबाट लालगढहुँदै कमलाखोलाको बगरै–बगर सिन्धुलीमाडी आइपुगेको दृश्य गोर्खालीहरूले हेरिरहेका थिए । निगाले निवासी जयनारायण थापा मगरसहितको स्थानीय दलले सिन्धुली भञ्ज्याङदेखि ढुङ्ग्रेबाससम्म भएका घारेमौरीलगायत अरिंगाल र बच्छ्यूँहरूलाई बिच्काइरहेका थिए । आक्रमण गर्न अगाडि बढेको अङ्ग्रेज सेना खच्चरमा तोप लदाई अरु सरसामान भरियाहरूलाई बोकाई बिहानका मिर्मिरेमा सिन्धुली भञ्ज्याङतिर लागे । त्यसैबेला गोर्खालीहरूले मौरी, अरिंगाल तथा बच्छ्यूँको गोलामा ढुङ्गा र काँडले हानी बिच्क्याई दिँदा राता–काला जङ्गी पोशाक लगाएका अङ्ग्रेज सैन्य दलमाथि मौरी, अरिंगाल तथा बच्छ्यूँ खनियो भने अर्कोतिर भागदौड चल्दा जङ्गलको सिस्नो र अल्लोको पोलाइले उनीहरूको मस्ती गलेको थियो । तैपनि उनीहरू फेरि गोर्खालीहरूको आडमा पुग्दा काजी वंशराज पाँडे र वीरभद्र उपाध्यायको सैन्यदलले दुईतिरबाट आक्रमण गर्दा उनीहरूमा हाहाकार मच्चियो । रामकृष्ण कुँवरको नेतृत्वको फौजले थप आक्रमण गरिदिँदा उनीहरू टिक्न नसकी भाग्न थाले । त्यतिखेरै अन्तिमपटक वंशु गुरुङको नेतृत्वमा रहेको गोर्खाली फौजले दपेटा दिएर किनलकलगायत अङ्ग्रेज फौजलाई भगाएको थियो ।

गुरुङमाथि पृथ्वीनारायण शाहको विश्वास

पोखरामा रहेका आफ्ना एक दुस्मनलाई मराउन पृथ्वीनारायण शाहले झागल गुरुङलाई प्रयोग गरेको उनको उपदेशमा पढ्न पाइन्छ । उपदेशमा उनले ‘मलाई प्रसुराम थापाले नेपाल हान्न आऊ भनी हात दिइराख्याथ्यो । आफ्ना भाइलाई लाषविसि पु¥याउनु बाइसि चौबिसि उठाइ पछाडि हान्नु भनी पठायछ । र मैले थाहा पाँयां… पोषराको हटियामा डेरा गरी बस्याको छ भनी सुन्या र तेसलाई बैठाइ आउन… झागल गुरुं सक्ला भनी डाकी अ¥हाई मेरो कंमरको कोतखान दिया । गाइनेको भेष गरित हातमा बल्छीको टांगो लि काषिमा सारंगी च्यापी… उसका लस्करमा भात खान्या वषत अवसर हेरी बैठाइ आयो’ भन्ने उल्लेख गरेका छन् ।

त्यसपछि उनको अभियानमा किनलकको अङ्ग्रेज सेनालाई युद्धमा धुलो चटाएर फर्काउन महत्वपूर्ण भूमिका खेल्ने सिकारी सरदार वंशु गुरुङले स्वभाविक रूपमा उनको मन जिते ।
पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा किनलकको अभियानका बारेमा पनि उल्लेख गरेका छन् । उनले ‘कास्मेरिषान् नवाफ् मकवानपुर चढ्यो र छअविस् षोडाले काटि घर्काइ सिवाना कटाई आञा. तिन् चार पल्टन् लिएर सिडुलि गढिमा हाडीसाहेब चढ्यो र वाहीं पनि काटि पर्थकला च्याति ल्याञा’ भन्ने उल्लेख गरेका छन् ।

उनले आफ्नो उपदेशमा गुरुङहरूप्रतिको विश्वास व्यक्त गर्दै उनीहरूलाई दिइनुपर्ने जिम्मेवारीका बारेमा पनि आफ्नो धारणा व्यक्त गरेका छन् । उनले उपदेशमा ‘गुरुं, मगर षान् ज्यादा भैयाद भारदार मिर उमराउ थरघर पुराना पुराना जाची घुंडा गौंडामा राषनु. पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा बिथिति गराउछन्’ भन्ने उल्लेख गरेका छन् ।
यी तथ्यहरूबाट वंशु गुरुङ आफ्नो जमानाको एक सूरवीर सेनानायक थिए भन्ने स्पष्ट हुन आउँछ । बन्दुक र तोपजस्ता आधुनिक हतियारसहित युद्ध गर्न आएका आएका अङ्ग्रेज सेनालाई छापामार शैलीमा उनीहरूले पराजित गरेका थिए ।

सन्दर्भ ग्रन्थ

१. आचार्य, बाबुराम । ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१) । काठमाडौँः श्री ५ महाराजाधिराजका संवाद सचिवालय राजदरबार, नेपाल । पृ. ३२९
२. आचार्य, बाबुराम र योगी नरहरिनाथ । ‘बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको दिब्य–उपदेश’ (२०६१) । काठमाडौँः श्रीकृष्ण आचाार्य । पृ. ४३–४४
३. खनाल मोहनप्रसाद । ‘प्राचीन नेपाल’ सङ्ख्या १४ (माघ २०२७) । रमेशजङ्ग थापा (सम्पा.) । काठमाडौँः पुरातत्व विभाग । पृ. ५८
४. नेपाल, ज्ञानमणि । जततउकस्ररबललबउगचलबउयकत।अयmरलभधकरटज्ञटढद्द
५. बस्न्यात, डा. प्रेमसिंह । ‘नेपाली सेना ः लिगलिगकोटदेखि वर्तमानसम्म’ (२०७१) । काठमाडौँ ः ब्रदर बुक्स प्रकाशन प्रा.लि. । पृ. ११३