©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

वंशु गुरुङका खनाति पुस्ता भेट्दा…


  • कृष्णहरि घिमिरे

म कहिलेकाहीँ बेस्सरी घोत्लिन्थेँ, सिन्धुलीगढीको युद्ध र त्यसमा लडेका पात्र कस्ता थिए ? अढाई सय बढी वर्षअघि तिनीहरू कहाँबाट आए ? कस्ता थिए ती लडाइँ लड्नेहरू ? के खाए ? के लाए ? मनमा धमिलो कल्पना आउँछ । मन पनि रोमाञ्चित हुन्थ्यो ।

त्यो साहसिक युद्ध लड्नेका परिवार कहाँ छन् । पुस्तान्तरको फराकिलो फासल छ । तै कतै भए भेट्न पाए हुने थियो भन्ने मनमा खड्की रहन्थ्यो ।

एकदिन सिन्धुलीको चिया पसलमा मसहित केही साथी चिया पिउँदै थियौँ । पत्रकार दाइ डण्ड गुरुङसँगै केही मान्छे नजिकैको टेबलमा बसेर चिया पिउन लाग्नु भयो । डण्ड दाइले ‘भाइ उहाँहरू सिन्धुलीगढी युद्ध लड्ने योद्धाका खनाति पुस्ता हो । उहाँहरू विजय उत्सवको सिलसिलामा आफ्ना बराजु पुस्ताले लडाइँ लडेको ठाउँ हेर्न आउनु भएको’ भन्दै चिनाउनु भयो ।

मनै रमाइलो भयो । हतार–हतार चिनजान गरेँ । गज्जबै रमाइलो लाग्यो । वंशु गुरुङका खनाति पुस्ता बराजुले वीरता प्रदर्शन गरेको स्थान सिन्धुलीगढीको विजय उत्सव हेर्ने र त्यहाँको प्रचार–प्रसारमा सहभागी हुनु आउनुले झन् मज्जा लाग्यो ।

चिनारी गरेँ । कोही ब्रिटिस सेना (गोर्खा) त कोही भारतीय सेना (गोर्खा)को पेन्सनर हुनुहुँदो रहेछ । वंशुका सन्तानले वंशुको योगदानलाई चिरस्थायी बनाउन सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानसमेत स्थापना गर्नुभएको जानकारी पाएँ । मन झनै हर्षित भयो । उहाँहरूले तनहुँको शुक्लागण्डकी नगरपालिका– १२, ढोर, जसपुरमा वंशु गुरुङको प्रतिमा नै बनाउनु भएको पनि थाहा भयो ।

प्रतिष्ठान गठनसँगै उहाँहरूले करिब ४० लाखमा शालिक बनाएर हरेक वर्षजसो वंशुलगायत नेपाल बचाउने सिन्धुलीगढी लडेका योद्धाहरूलाई श्रद्धासुमन अर्पण गर्ने गर्नुभएको रहेछ । एउटा वीर योद्धाका परिवारले आफ्नो पुर्खाको योगदानप्रति देखाएको समर्पण सुन्दा नै आनन्दित भएँ ।

प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङसँगको भलाकुसारीमा यी सबै जानकारी पाउँदा समय मिलेमा एक दिन तनहुँको जसपुर पुग्ने अठोट गरेको छु ।

अढाई सय वर्षभन्दा बढी समय भयो सिन्धुलीगढीका युद्ध भएको । कप्तान किनलकको नेतृत्वमा आएको २४ सय ईष्ट इन्डिया कम्पनीको सेनालाई हराएको त्यो किल्लामा तिनै बहादुर सेनाका एक कमाण्डरका खनाति पुस्ता सिन्धुलीमा पाउनु आफँैमा फरकखालको अनुभूति हो ।

संसारमा ब्रिटिस साम्राज्य कहीँ पनि हारेन तर यहीँ सिन्धुलीगढीमा भने हारेर भाग्यो । त्यो ऐतिहासिक किल्लामा आएका वंशु गुरुङका सन्ततिले लामो सास लिए । गर्वले छाती फुलाए । बराजु लडेको त्यो लडाइँ फिरंगी हराएको कथा भन्दै नाक फुलाएर गए । सदरमुकाम आए । बराजुले लडेको त्यो लडाइँको जितको सम्झनामा फुटबल खेले । किल्लामा गएर उत्साहित भएर फोटो खिचे । गर्वले फुलेर गए । हरेक वर्षको विजय उत्सवमा सिन्धुलीगढी आउने प्रतिबद्धता जनाउँदै गए ।

सिन्धुलीगढी जहाँ हाम्रा बहादुर गोर्खाली लडे, तिनीहरूका सन्ततिमध्येका थोरै सिन्धुलीसँग जोडिन आउँदा मनै रमाइलो भयो । हरेक वर्षको विजयोत्सवमा वंशुका सन्ततिसँग भेट्ने वाचासहित मैले त्यही रमाइला र गर्वले ओतप्रोत हुने अवसर सम्झँदै गज्जबको अनुभूति सँगालेर राखेँ ।

लेखक नेपाल पत्रकार महासंघ, सिन्धुलीका अध्यक्ष हुनुहुन्छ ।