©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

मैले देखेको सिन्धुलीगढी


  • बिमला पाण्डे

सानैमा स्कुल पढ्दा गुरुले गोर्खाली (नेपाली)हरूको वीरताको बारेमा कक्षामा बताउनुभएको थियो । गुरुले बताएअनुसार नेपालीहरूले अरिंगाल, बारुला, सिस्नो, घुयँत्रो, गुलेलीको माध्यमबाट अङ्ग्रेजलाई हराएको र नेपाल बचाएको कुरा मलाई केही याद थियो । मलाई गुरुले कति कक्षामा नेपालीहरू वीर थिए भनेर पढाउनुभएको थियो त्यो त ठ्याक्कै याद छैन तथापि मेरो बालमस्तिष्कले नेपालीहरूले देश बचाउन गरेको त्यो त्यागको बारेमा पढाएका कुरा भुलेको थिएन । त्यो ठाउँ कहाँ होला ? कहिले पुगिएला ? भन्ने कुराले भने मलाई बेला–बेला घचघच्याई रहन्थ्यो । १५ वर्षअघि जब म बिहेवारी भएर सिन्धुली आएँ, त्यसपछि भने मैले त्यही ठाउँको बारेमा सुन्ने, बुझ्ने र त्यसको इतिहासको बारेमा केही जान्ने मौका पाएँ । अनि थाहा भो कि मैले खोजेको विरभूमी त सिन्धुलीगढी रहेछ । जुन मैले कर्मथलो बनाउन पाएँ ।

नेपाल बचाउने युद्ध लडेर विश्वमै वीरताको झण्डा फहाराएको नेपालको त्यस्तो भूमी हेर्ने इच्छा हरेकलाई हुन्छ । त्यो इच्छा मलाई पनि भयो । पेशाले हामी श्रीमान्–श्रीमती नै पत्रकार भएकाले पनि त्यहाँको बारेमा जान्न र त्यो ठाउँमा जान मलाई कुनै गाह्रो भएन । सिन्धुलीगढी हेर्न गइयो । जतिबेला म सिन्धुलीगढी पुगेको थिएँ, त्यतिबेला विपी राजमार्ग खुलेको त थियो तर कच्ची र साँघुरो सडक थियो । बन्दै गरेको धुलो सडकबाट बसमा चढेर सिन्धुलीगढी हेर्न गइयो । जुन अपेक्षा र कल्पना गरेर म सिन्धुलीगढी गएकी थिएँ, त्यतिबेला सिन्धुलीगढीका भौतिक संरचनाहरू भग्नावशेष भएका थिए ।

जंगल, घारीले सिन्धुलीगढीका किल्ला पुग्न सकस थियो । गढी दरबार लगभग ७५–८० प्रतिशत भत्किएको थियो । त्यसको संरक्षण र संवद्र्धनमा राज्यको कुनै निकायको ध्यान गएको थिएन । यतिसम्म कि सिन्धुलीगढीको इतिहाससमेत प्रचारको अभावमा छट्पटाइरहेको थियो ।

सिन्धुलीगढी पुग्न सकस, पुगेपछि किल्ला घुम्न सकस, अझ त्योभन्दा पनि दुर्दशा त त्यहाँका प्रशासनिक भवन, सिन्धुलीगढी (रानी) दरबारलगायतका भौतिक संरचनाको दुर्दशाले मनै कटक्क खाने थियो । सिन्धुलीमा रेडियो सिन्धुलीगढीको स्थापना भइसकेकाले त्यतिबेला गायक कृष्णविक्रम थापाले २०३६ सालमा रेडियो नेपालमा गाएको ‘सिन्धुलीगढी नि घुमेर हेर्दा…’ बोलको गीत गुन्जिरहन्थ्यो । त्यो गीतले भनेको जस्तो राम्रो सिन्धुलीगढी थिएन । न त इतिहासको संरक्षणमा राज्यको ध्यान थियो, न त्यसको प्रचार–प्रसार र पुनःनिर्माणमा नै ।

केही समय मैले पनि रेडियो सिन्धुलीगढीमा काम गरेँ । त्यतिबेला गायक कृष्णविक्रम थापालाई मधुटार र बसपार्क जोड्ने पुलनजिक रहेको बागवानी केन्द्र अगाडि लडिरहेको अवस्थामा भेटेँ । म त उनलाई चिन्दिनथेँ । मेरा श्रीमान् (द्वारिका काफ्ले)ले मलाई उहाँको बारेमा जानकारी गराउनुभयो । उहाँ बोल्ने, गफ गर्न सक्ने अवस्थामा हुनु हुन्नथ्यो । कुराकानी गर्न नपाए पनि सिन्धुली र यहाँका सरोकारवालासँग मलाई भित्रभित्रै धिक्कार लागिरहेको थियो । गीत÷संगीतबाट सिन्धुलीलाई चिनाउने ती श्रष्टाको अवस्थाले सिन्धुलीको विकास निकै पछि पर्दैछ भन्ने अनुभूति गरायो । न उनको उपचार गर्न सरकारको ध्यान थियो, न उनको सम्मानका लागि ध्यान थियो । आखिर कृष्णविक्रम थापाको योगदान सिन्धुलीगढीको प्रचारमा प्रचुर थियो नै । किन उनी सडकमा पुग्दा पनि केही गरिएन ? यो प्रश्नको जवाफ आज पनि मैले पाएको छैन ।

विपी राजमार्ग निर्माण हुँदै थियो । सिन्धुलीगढी ओझेलमा परेको कुरा सञ्चार क्षेत्रमा बहस हुँदै गयो । जिल्लामा रहेका अग्रज पत्रकारहरूबीच सिन्धुलीगढीको इतिहासलाई बाहिर ल्याउनुपर्छ, प्रचार–प्रसार गर्नुपर्छ र सिन्धुलीगढीको इतिहासलाई संरक्षण गर्नुपर्छ भन्नेतर्फ छलफल भयो । २०६७ सालको कुरा हो, नेपाल पत्रकार महासंघको नेतृत्वमा यो काम सुरु गर्ने गरी निधो गरियो । जसअनुसार सिन्धुलीगढीको युद्धको मिति खोजिन थालियो । मितिका लागि स्थानीय राजनीतिक दल, सिन्धुलीगढीका बारेमा जानकार व्यक्तिहरू, नेपाली सेना, तत्कालिन जिविस, पत्रकारहरूबीच कात्तिक २४ गतेलाई विजय उत्सव मनाउने भन्ने निधो भयो र नेपाल पत्रकार महासंघ सिन्धुलीको नेतृत्वमा सिन्धुलीगढी विजय दिवस मनाइयो । नेपाली सेनाले सरसफाई र सलामीमा सहयोग ग¥यो । यसरी विजय दिवसको सुरुवात भयो । युद्धको मिति थाहा पाउन नसकेपछि स्थानीय स्तरमा नै केही दस्तावेज र केही अड्कल, अनुमानका आधारमा कात्तिक २४ गते विजय दिवस मनाउने निर्णय भएको थियो । अहिले पनि निरन्तर त्यही मितिमा विजय उत्सव मनाइँदै आएको छ । इतिहासको खोजी गर्दै जाँदा असोज १५ लाई विजय दिवस र कात्तिक २४ लाई विजय उत्सवका रूपमा मनाउन सुरु गरिएको छ ।

पत्रकार महासंघको नेतृत्वमा सिन्धुलीका पत्रकारले चालेको यो अभियानसँगै सिन्धुलीगढीको प्रचार–प्रसार सुरु भयो । नेपाल पत्रकार महासंघ सिन्धुलीले सिन्धुलीगढीको इतिहास संरक्षण, प्रचार–प्रसार र विकासमा महत्वपूर्ण ऐतिहासिक योगदान दिएको छ । २०६८ देखि जिल्ला विकास समिति र नेपाली सेनाले पनि विजय उत्सव मनाउन नेपाल पत्रकार महासंघसँग सहकार्य थालनी ग¥यो । देश संघीयता पुनर्संरचना हुँदा कमलामाई नगरपालिकामा परेको सिन्धुलीगढीमा जनप्रतिनिधि आएपछि कमलामाई नगरपालिकाले विजय दिवसलाई निरन्तरता दिन थालेको छ । पत्रकार महासंघले हरेक वर्ष विजय दिवसलाई महत्वका साथ सफल पार्न हातेमालो गरिरहेको छ ।

सिन्धुलीगढी संरक्षण समितिले सिन्धुलीगढी संरक्षणमा केही ऐतिहासिक भग्नावशेष बनाउने तथा पिकनिक स्थल निर्माण, खानेपानी व्यवस्थापन, भ¥याङ निर्माण, सिद्धबाबा मन्दिरको पुनर्निर्माण, शौचालय निर्माणलगायतका काम गरेको थियो तर त्यो विकास पर्याप्त थिएन । साथमा समृद्ध सिन्धुली अभियानलगायतका संघ–संस्थाहरूले पनि सिन्धुलीगढीको महत्व स्थापित गर्न हातेमालो गरे ।

स्थानीय तह बनेपछि निर्माणमा तीव्रता

देश संघीयतामा जानुपूर्व सिन्धुलीगढीको विकास जति हुनपर्ने हो हुन नसकेकै हो । तत्कालीन जलकन्या गाविसमा पर्ने सिन्धुलीगढी संघीयता तथा राज्य पुनर्संरचनासँगै कमलामाई नगरपालिकामा प¥यो । पुनर्संरचनाअघि सिन्धुलीगढीको जति विकास हुनुपर्ने हो भएन । तथापि प्रचार–प्रसारले भने तीव्रता नै पायो । जब २०७४ मा स्थानीय तहको निर्वाचन भयो त्यसपछि कमलामाई नगरपालिकाले सिन्धुलीगढीको गुरुयोजना नै निर्माण गरी विकास सुरु ग¥यो । पछिल्लो पाँच वर्षमा सिन्धुलीगढीको पुनर्निर्माणमा धेरै काम भएका छन् ।

कमलामाई नगरपालिकाको योजनालाई संघीय सरकार, प्रदेश सरकारले साथ दिए । नेपाली सेनाले साथ दियो । यतिबेला सिन्धुलीगढीको किल्ला पुनर्निर्माण भएका छन् । नेपाल एकीकरणका अभियानकर्ता पृथ्वीनारायण शाहको शालिक स्थापना भएको छ । सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण भई सञ्चालनमा आएको छ । स्तम्भ निर्माण भएको छ ।

रानी दरबार पुनर्निर्माण पुरानै शैलीमा भएको छ । तत्कालीन समयमा युद्ध लड्ने नेपाली योद्धा वंशु गुरुङ, वीरभद्र उपाध्याय, वंशराज पाण्डे र श्रीहर्ष पन्तका शालिक बनाइएको छ । इतिहासका बारेमा जान्न र बुझ्न चाहनेका लागि र देशभक्त नेपालीको उचित अध्ययन केन्द्र र गन्तव्यका रूपमा सिन्धुलीगढी विकास भएको छ । सिन्धुलीगढीमा सुरक्षाको व्यवस्थापन गरिएको छ । पुराना भत्किएका प्रशासनिक भवन क्षेत्रलाई तारबार गरी संरक्षण गरिएको छ । खानेपानी, शौचालय, गार्डेनसहितको व्यवस्थापन गरिएको छ । सोला भञ्ज्याङदेखि सिन्धुलीगढीसम्मको सडक कालोपत्रे भएकाले सवारीसाधनमै सिन्धुलीगढी पुग्न सकिने भएको छ ।

नेपालका १०० पर्यटकीय गन्तव्यमा नेपाल सरकारले सिन्धुलीगढीलाई पनि सूचीकृत गरेको छ । यसले गढीको सुन्दरतासँगै हेर्नलायक गन्तव्य पनि बन्दै गएको छ । विपी राजमार्गको पूर्णता र सुन्दरतासँगै पुग्न सकिने यो गन्तव्य साँच्चिकै विदेशीहरूका लागि समेत पर्यटकीय गन्तव्य बनिरहेको छ । यसमा सिन्धुलीबासीले गौरव गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

१२, १३ वर्षमा सिन्धुलीगढीको विकास र प्रचार जुन गतिमा भयो, साँच्चिकै उदाहरणीय काम भएको छ । यसको पहिलो जस नेपाली सञ्चार जगतलाई जानुपर्छ र जान्छ नै । अब सिन्धुलीगढी घुमेर हेर्दाका गायक कृष्णविक्रम थापाको शालिक राखिँदै छ । शालिक निर्माण सम्पन्न भइसकेको छ । यसले झनै सिन्धुलीगढीको शिर उचो बनाउने छ । सिन्धुलीका स्रष्टाको समेत सम्मान हुने भएको छ ।

ऐतिहासिक र धार्मिक पर्यटनको सम्भावना

सिन्धुलीगढीका जंगलहरूमा युद्धको झल्को दिने खालका होर्डिङ बोर्ड तथा तस्बिरहरू राखिएका छन् भने सिन्धुलीगढीको इतिहास झल्काउने खालका होर्डिङ बोर्डहरू राखिएको छ । जब विपी राजमार्ग बन्यो, त्यसपछि सिन्धुलीगढी सबैका लागि सहज गन्तव्य बनेको छ । योसँगै मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्गका कारण पनि सहज गन्तव्यमा सिन्धुलीगढी विकास भइरहेको छ । जापान सरकारले बनाएको उक्त सडकको नागबेलीसँगै पर्ने उक्त स्थल मध्य तथा पूर्वी तराई, मध्य÷पूर्वी पहाड र काठमाडौँसँग जोडिएपछि पर्यटकहरू बढ्न थालेका छन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि जिल्लाकै नमूना हुने यो स्थानमा आउने पर्यटकलाई यसको महत्व झल्काउने सामग्री उपलब्ध गराई टिकट सिस्टममा विकास गरिएको छ ।

महाभारतकै रेञ्जमा उत्पादन हुने जुनार र यसको पकेट क्षेत्रसँग गढीलाई विकास गर्न सकेमा अझ प्रभावकारी हुने देखिन्छ । गोर्खालीकी ईष्ट देवी भगवती मनकामनाको बहिनीका रूपमा भद्रकाली देवीलाई लिने गरिन्छ । यस मन्दिरको स्थापना शाह वंशीय राजा पृथ्वीनारायण शाह आफैँले गरेको पाइन्छ । उनले युद्धमा विजय प्राप्त होस् भनी भद्रकाली मन्दिरको स्थापना गरेको इतिहास छ ।

भद्रकालीको दर्शन गरेमा मनले इच्छा गरेको कुरा पूरा हुने विश्वास छ । यस मन्दिरमा नेपाली सेनाको टुकडीले विजया दशमीलगायत विभिन्न पर्वहरूमा सलामी दिने गर्छ । सिन्धुलीगढीसँग भद्रकाली मन्दिरको अटुट सम्बन्ध देखिन्छ । कमलामाई नगरपालिका– २ को भद्रकाली मन्दिर र सिन्धुलीगढी क्षेत्रमा रहेको सिद्धबाबा (सिद्धगढी÷सिद्धस्थान) मन्दिरका कारण पनि यो क्षेत्रमा धार्मिक पर्यटनसमेत बढाउन सकिने अवस्था छ । सिन्धुलीगढीको विकाससँगै भद्रकाली मन्दिरको नेपाली सेनाको बर्दबहादुर गणले पुनर्निर्माण गरेको छ । जसका कारण पनि धार्मिक पर्यटनको सम्भावना बढेको छ ।

नेपाल बचाउने त्यो युद्ध

सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो ठाउँ काठमाडौँबाट करिब १ सय ५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको गढी प्राकृतिक रूपमा शान्त र रमणीय छ । सिन्धुली गढी तीन हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

उत्तरतिर गौरीशंकर हिमालको दृष्य, दक्षिणतिर तराईका समथर भू–भाग देखिने यो स्थान महाभारत शृङ्खलामा पर्छ । शीतल र पारिलो यो स्थान बनेपा–बर्दिबाससम्म विपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण सुगम बन्दै गएको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाडीबाट १९ किलोमिटर उत्तरतर्फ विपी राजमार्ग गई सोला भञ्याङबाट एक किलोमिटर उकालो चढेपछि सिन्धुलीगढी पुगिन्छ । सिन्धुलीगढी नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज हो । त्यति मात्र हैन, त्यस क्षेत्रमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरूले तत्कालीन नेपाली सेनाको युद्ध रणनीतिको समेत जानकारी दिन्छ । पछिल्लो समयमा त्यस क्षेत्रमा युद्धको झल्को दिने गरी युद्ध तस्बिरहरू पनि राखिएको छ । यसले युद्धकालीन अध्ययनका लागिसमेत सहयोग पुगेको छ, अझ युद्धका बारेमा बुझ्न संग्रहालय बनेपछि पर्याप्त भएको छ ।

सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौँ आक्रमण अर्थात् वि.सं. १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राजनीतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ । वि.सं. १३६७ मा सिम्रौनगढका सेनाहरूले (डोयहरू) काठमाडौंँमा व्यापक लुटपाट गरेर बनेपाहुँदै विदेह (जनकपुर र सितामाढी) फर्किएका थिए । कमलामाई मन्दिरमा वि.सं. १०३४ मा चढाइएको मुकुटबाट सिन्धुलीअन्तर्गतको कमला नदीमा अवस्थित कमलामाई मन्दिरमा आउने धर्मावलम्बीहरू आजभन्दा करिब १०३० वर्ष अगाडि पनि रहेको बुझिएकाले सिन्धुलीमाढीहुँदै तराई क्षेत्र होस् वा दोलखा तथा काठमाडौँ जाने मुख्य बाटोको रूपमा सिन्धुलीगढी रहेको अनुमान गर्न गाह्रो हुँदैन । मुलकोट, खुर्कोटजस्ता कोट लागेका स्थानहरूले पनि प्राचीनकालदेखि नै यो बाटो अस्तित्वमा रहेको प्रमाणित हुन्छ ।

सिन्धुलीगढीको ऐतिहासिक महत्व थाहा पाउन १४औँ शताब्दीसम्म पुग्नुपर्ने हुन्छ । वि.सं. १३६७ मा सिम्रौनगढका (डोय) सेनाहरूले काठमाडौँमा लुटपाट गरी सिन्धुलीगढीको बाटो भएर फर्किएको र डोयहरूको आक्रमणको करिब ४० वर्षपछि बंगालका शासक समसुद्दिन इलियासको फौजले काठमाडौँमा आक्रमण गरी सिन्धुलीगढीको बाटो फर्किएका थिए । यो अपार क्षतिबाट विछिप्त भएर पुनः आक्रमणको प्रतिरोध एवं बचावटका लागि राजा जयस्थिति मल्लले सिन्धुलीगढीको स्थापना गरेको इतिहास छ ।

काठमाडौँका राजा यक्ष मल्लले अयोध्या र मगधसमेत नेपालमा गाभेपछि विदेशीहरूलाई प्रत्याक्रमण गर्न नदिन वि.सं. १५१५ तिर सिन्धुलीगढीलाई मजबुत बनाएका थिए । वि.संं. १५५६ तिर राजा शिवसिंह मल्लले सिन्धुली विजय गरेपछि सिन्धुलीगढीलाई आफ्नो कब्जामा लिएका थिए । वि.सं. १७४६ मा कान्तिपुरका राजा भुपालेन्द्र मल्लका भारदारहरू र मोरङका बादशाह इन्द्रविधाता सेन (हरइन्द्र सेन) सिन्धुलीगढीमा भेला भई मैत्री सम्बन्ध स्थापना गरेको पाइन्छ । यसले पनि मैत्री सम्बन्धमा पनि सिन्धुलीगढी अगाडि रहेको प्रष्ट गर्छ ।
वि.सं. १८२४ मा गोर्खाली सेनाले जयप्रकाश मल्लको सहयोगार्थ आएका ईष्ट इन्डिया कम्पनी सेनालाई सिन्धुलीगढीमा पराजित गरेको थियो ।

वि.संं १८७३ मा भएको नेपाल–अङ्ग्रेज युद्घको समयमा सिन्धुलीगढीको सामरिक महत्वलाई बुझेर तत्कालीन जनरल भीमसेन थापाले सिन्धुलीगढीमा कानुनी रूपमा एउटा स्थायी सैन्य छाउनीको व्यवस्था गरेको पाइन्छ । सिन्धुलीगढीलाई दुईवटा गढीमा विभाजन गरिएको छ । जसलाई सानो गढी र ठूलो (पौवा) गढी भनेर चिनिन्छ । युद्धको बेला सानो र ठूलो तोप राखेको हुनाले सानोगढी र ठूलोगढी नाम राखिएको इतिहासका जानकारहरू बताउँछन् ।

मकवानपुरका राजा शुभ सेनका छोरा माणिक्य सेनले १७६२ मा सिन्धुलीगढीको निर्माण गराएको भनिन्छ । त्यही गढी वि.सं. १८१९ मा गोर्खाली सेनाले कब्जा गरेका थिए । जितेपछि पृथ्वीनारायण शाहले दुई गढीको बीचमा सेनाहरू बस्न काठ र खरको छानो हालेर घर बनाएका थिए । वि.सं. १९७५ सालतिर प्रधानमन्त्री चन्द्रसम्शेरले बडाहाकिम र सैनिक बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, सिमेन्ट र इँटाको गाह्रो भएको दुई तले दरबार बनाउन लगाएका थिए । त्यहस् दरबार अहिले रानी दरबारका रूपमा परिचित छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाको समयमा सिन्धुलीगढी मकवानपुर राज्य अन्तर्गत पथ्र्यो । वि.सं. १९७५ सालतिर प्रधानमन्त्री चन्द्रसम्शेरको पालामा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, सिमेन्ट र इँटाको गारो लगाएको दुई तले दरबार निर्माण गर्न लाएको देखिन्छ । पछि गढीका कर्णेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरेका थिए ।

सिन्धुलीगढी युद्ध अङ्ग्रेजको ब्रेक

वि.सं. १८२४ सालमा ईष्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २४ सय अङ्ग्रेज फौजलाई राजा पृथ्वीनारायण शाह निर्देशित वंशु गुरुङको नेतृत्वमा रहेको नेपाली फौजले सिन्धुलीगढीबाट हराएको र १६ सय अङ्ग्रेजले ज्यान गुमाएको इतिहासमा उल्लेख छ । उक्त लडाइँमा चार÷पाँच सय हतियार र तोपहरू बरामद गरेको भन्ने इतिहास छ । यो लडाइँमा स्थानीय जनताले सिस्नो, अल्लो, अरिंगालको गोला, बारुलाको गोला, कमिलाको गोला आदिको प्रयोगले अङ्ग्रेजका फौजमाथि आक्रमण गर्न सघाएका थिए । त्यो युद्धमा करिब पाँच सय जनाले ज्यान गुमाएको नेपाली सेनाको इतिहासमा उल्लेख गरिएको छ ।

विश्वमा साम्राज्य फैलाउँदै हिडेका अङ्ग्रेज शासकको युद्धमा पहिलोपटक सिन्धुलीगढी युद्धले नै व्रेक लगाएको थियो । नेपालीहरूले बारुला बिच्क्याएर र ढुंगा खसालेर युद्धको अनौठो सीपको प्रयोग गरेका थिए । अरिंगाल र बारुलाले टोकेर र गढीको दक्षिणतिरको भीरबाट लडेर धेरै अङ्ग्रेज सैनिकले ज्यान गुमाएको इतिहासका ज्ञाता सागरकुमार ढकालले आफ्नो पुस्तक ‘नेपालको इतिहासमा सिन्धुलीगढी’मा उल्लेख गरेका छन् ।

युद्ध कौशलमा पूर्ण मानिएको अङ्ग्रेज फौजले गोलाबारी र बन्दुकका साथ सिन्धुलीगढीमाथि आक्रमण गरेको थियो । अङ्ग्रेज फौजमाथि वीर गोर्खाली सैनिकले बडो चातुर्य र बहादुरीका साथ लडेर बैरीको फौजलाई तहनहस पारे र हतियारसमेत बरामद गरे । नेपालको विकट भौगोलिक क्षेत्रमा पाइने जैविक विविधतासँग परिचत नभएका अङ्ग्रेज फौजलाई गोर्खालीसँगको यो युद्ध ज्यादै महँगो सावित भएको पाइन्छ । यो लडाइँमा गोर्खाली सेनालाई सिस्नो, अल्लो, अरिंगालको गोला, बारुलाको गोला, कमिलाको गोला आदिको प्रयोग गर्न स्थानीय जनताले सघाएको देखिन्छ ।

प्रशासनिक केन्द्र सिन्धुलीगढी

वि.सं. २०१९÷२० सालसम्म सिन्धुलीगढी पूर्व दुई नम्बर क्षेत्रको प्रशासकीय केन्द्रका रूपमा परिचित थियो भने पूर्वी तराईका जिल्लादेखि काठमाडौँ जाने सबैले यो पैदल बाटो प्रयोग गर्ने गर्दथे । यो स्थान पूर्वी २ नं. क्षेत्रको कर संकलन गर्ने नाका पनि रहेको पाइन्छ । वि.सं. २०१९ सालसम्म सबै सरकारी कार्यालय यसै ठाउँमा थिए ।

वि.सं. २०२२ सालमा सिन्धुलीगढी दरबारमा सेनाको ब्यारेक र प्रहरी चौकी, कारागार मात्र बाँकी रहेर सबै कार्यालयहरू सिन्धुलीमाडीमा सारियो । वि.सं. २०२९ सालमा कारागार पनि सिन्धुलीमाडीमा सारियो । वि.सं. २०५२ सालसम्म प्रहरी चौकी गढी परिसरमा भए पनि तत्कालिन माओवादीको सशस्त्र युद्ध सुरु भएसँगै त्यो पनि सर्यो । तत्कालीन माओवादीले गढी आक्रमण गरी जनयुद्धको सुरुवात गरेको थियो ।

पछिल्लो समय सिन्धुलीगढीका केही पुरातात्विक शिला लेखहरू चोरी भए । केही संरक्षणमा छन् ।

(लेखक, नेपाल सरकार न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य हुन् ।)