©2026 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

सिन्धुलीगढीमा वंशु गरुङ स्मृति प्रतिष्ठानको झण्डा फरर


सिन्धुली । तिहारका बिचमा पनि कमलामाई नगरपालिकाले सिन्धुलीगढी २५९औं विजयोत्सव मनाएको छ । अंग्रेज फौजलाई १८२४ असोज १५ गते पराजित गरेपनि २०५७ सालदेखि सिन्धुलीगढीमा विजयोत्सव कात्तिक २४ गतेदेखि मनाउँदै आएको छ ।

नेपाल पत्रकार महासंघको अगुवाईमा २०५७ सालदेखि विजयोत्सव मनाउन थालिएको थियो । स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि भने नगरपालिकाले यो विजयोत्सव मनाउँदै आएको छ ।

नगरपालिकाले तिहारको बिचकै समयमा पनि विजयोत्सव मनायोे । नगरपालिका प्रमुख उपेन्द्र पोखरेलले नेपाली सेनाको सलामीसहित झण्डोत्तोलन गरे । सोही बिचमा सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्परको लोगो अंकित झण्डा फहराइयो ।

प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङ र नगर प्रमुख उपेन्द्र पोखरेल लगायतले सामुहिक रुपमा प्रतिष्ठानको झण्डा सार्वजनिक गर्दै फहराएका थिए ।

अंग्रेजविरुद्धको सिन्धुलीगढी युद्धमा वीरता प्रस्तुत गरेर महत्वपूर्ण योगदान दिएको सिकारी सरदार वंशु गुरुङको योगदानको चिरस्थायी बनाउन उनका सन्ततिले एक दशकदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ । नेपाल सरकारले वंशु गुरुङको सम्मानमा हुलाक टिकटसमेत प्रकाशन गरिसकेको छ ।

सो अवसरमा नगर प्रमुख पोखरेलले सिन्धुलीगढीको इतिहासले सबैलाई ऐक्यवद्धता, इमान्दारिता, राष्ट्रभक्ति, निस्वार्थ भावसहितको सर्वस्वीकार्य संकल्प गर्न अभिप्रेरित गरेको बताए । वर्तमान स्थिति सत्ता र शक्तिको चरम दुरुपयोग भइरहेको र यस्तो स्थितिमा विदेशी हस्तक्षेपको नांगो प्रभाव रहेको भन्दै उनले केन्द्र सरकारलाई लक्षित गर्दै कानुन हातमा लिएर राजनीति र समाजलाई थरथरी बनाउने रणनीति नेपालले इतिहासकै सबैभन्दा कठिन वर्षहरु पार गर्दै रहेको उल्लेख गरे ।

सो अवसरमा नगर उपप्रमुख मञ्जु देवकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष बाबुराम देवकोटा, प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।